स्याङ्जामा सबैभन्दा धेरै वर्षा, पश्चिम नेपालमा अझै भारी पानी पर्ने सम्भावना

काठमाडौँ – देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले गएराति अधिकांश स्थानमा वर्षा भएको छ। केही क्षेत्रमा भारी वर्षासमेत मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै स्याङ्जामा १४४ मिलिमिटर वर्षा मापन भएको छ। हाल वर्षा प्रणाली पश्चिम नेपालतर्फ केन्द्रित भएको छ। दैलेखमा पछिल्लो एक घण्टामै ४६ मिलिमिटर वर्षा भएको छ। काठमाडौँ उपत्यकामा गएराति लगातार वर्षा भए पनि अहिले वर्षा रोकिएको छ। पूर्वी नेपालका अधिकांश क्षेत्रमा पनि हाल वर्षा नभएको महाशाखाले जनाएको छ।

आज र भोलि पनि देशभर मनसुनी प्रणाली सक्रिय रहने भएकाले विभिन्न प्रदेशमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, आज राति सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा आकस्मिक बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्