डोल्पामा लेदोसहितको बाढी, एक महिलाको मृत्यु, ६ जना घाइते

File Photo

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति लेदोसहितको बाढी आउँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्साबाट हिलो, ढुङ्गा र लेदोसहितको बाढी गाउँमा पसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार बाढीमा घाइते भएकी स्थानीय ५६ वर्षीया आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

बाढीमा घाइते भएका ५० वर्षीया चाउरी विक, ४४ वर्षीया रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विकको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाका प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढीले आफूलाई करिब १५ देखि १६ मिटरसम्म बगाएको थियो। बाढीका कारण ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको उनले बताएका छन्।

बाढीले गाउँमा ठूलो भौतिक क्षति पनि पुर्‍याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणअनुसार स्थानीय सहकारी भवन, खाद्य गोदामसहित ७–८ वटा घरमा क्षति पुगेको छ भने एउटा घर पूर्ण रूपमा ध्वस्त भएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनालगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार तथा राहत कार्य सञ्चालन गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्