काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को प्रतिस्पर्धामा पाराग्वेलाई पराजित गर्दै फ्रान्स र सहआयोजक क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अमेरिकाको फिलाडेल्फियामा भएको खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले हरायो। खेलको ७०औँ मिनेटमा कप्तान किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको एकमात्र गोल नै फ्रान्सको जितका लागि निर्णायक बन्यो। भिडियो सहायक रेफ्री (VAR) को समीक्षा पछि पेनाल्टी दिइएको थियो।
यस गोलसँगै एम्बाप्पेले यस विश्वकपमा आफ्नो सातौँ गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेसीसँग गोलकर्ताको सूचीमा बराबरी गरेका छन्। साथै, फ्रान्स लगातार चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। यस्तै, अमेरिकाको ह्युस्टनमा भएको अर्को खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो। मोरक्कोका अज्जेदिन ओउनाहीले दुई गोल गरे भने सुफियान रहिमीले इन्जुरी समयमा अर्को गोल थपे।
सातौँ पटक विश्वकप खेलेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो। यससँगै दुईपटक विश्वकप क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान पनि मोरक्कोले बनाएको छ। पहिलोपटक अन्तिम १६ पुगेको क्यानडाको यात्रा भने यहीं टुङ्गिएको छ।
अब क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।




