काठमाडौं – देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी र तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





