काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गत मङ्सिरसम्मको स्वास्थ्य बीमा दाबी बक्यौता भुक्तानी गरिसकेको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई मङ्सिरसम्मको भुक्तानी सम्पन्न भएको र पुसयताको सात महिनाको दाबी रकम भने अझै भुक्तानी हुन बाँकी रहेको जानकारी दिएको हो।
बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न चरणमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको छ। पुस महिनादेखिको बाँकी दाबी रकम सरकारबाट आवश्यक बजेट विनियोजन भएपछि मात्रै भुक्तानी गरिने बोर्डले जनाएको छ।
बाँकी रकम भुक्तानीको प्रक्रिया अघि बढिरहेका बेला बोर्डले बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न आग्रह गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध गरिएको छ।
स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी र दिगो बनाउन सबै पक्षले जिम्मेवारीपूर्वक सेवा उपयोग गर्नुपर्नेमा बोर्डले जोड दिएको छ।




