सूर्यविनायक-३ ले पायो बालमैत्री स्थानीय शासनयुक्त वडाको मान्यता

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। बालबालिकाको अधिकार संरक्षण, सहभागिता, सुरक्षा, स्वास्थ्य, शिक्षा तथा समग्र विकाससँग सम्बन्धित राष्ट्रिय मापदण्ड र सूचकहरू पूरा गरेपछि विशेष समारोहका बीच वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।

घोषणा समारोहमा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था, शिक्षक, अभिभावक, बाल क्लबका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालमैत्री वातावरण निर्माण स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै वडा नम्बर-३ ले हासिल गरेको उपलब्धि अन्य वडाका लागि पनि प्रेरणादायी रहेको बताए।

कार्यक्रममा बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण, सहभागिता तथा बालअधिकार सुनिश्चित गर्न वडाले सञ्चालन गरेका विभिन्न कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो। साथै आगामी दिनमा पनि बालमैत्री स्थानीय शासनका सूचकहरूलाई निरन्तर कार्यान्वयन गर्दै बालबालिकाको हितलाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

घोषणा समारोहमा बालबालिकाद्वारा सांस्कृतिक प्रस्तुति, स्वागत गीत तथा सचेतनामूलक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले बालमैत्री समाज निर्माणका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

सूर्यविनायक नगरपालिका–३ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएसँगै नगरपालिकाभित्र बालअधिकारमैत्री वातावरण विस्तार गर्ने अभियानले थप गति लिने विश्वास व्यक्त गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्