मनसुन सक्रिय बन्दै, असार १६-१७ गते अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन क्रमशः सक्रिय बन्दै गएको जनाउँदै आगामी असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाले आइतबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने जनाएको हो।

यस अवधिमा देशका पहाडी तथा तराईका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको छ। यही प्रणालीको प्रभावले मनसुन देशका बाँकी क्षेत्रमा पनि विस्तार हुँदै जाने अपेक्षा गरिएको छ।

लगातारको वर्षासँगै भूक्षय, बाढी, पहिरो, गेग्र्यान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। साथै, ठूला तथा साना नदीखोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

महाशाखाले सम्भावित वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्