काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। किसानहरू खेतमा धान रोप्दै, असारे गीत गाउँदै र दही–चिउरा खाएर यस पर्वलाई उत्सवका रूपमा मनाइरहेका छन्।
असार महिनामा धान रोपाइँको चटारोबीच खेतमा काम गर्दा शरीरलाई शीतलता र ऊर्जा मिल्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ। खेतीपातीमा संलग्न किसान मात्रै होइन, अन्य पेसा–व्यवसायमा आबद्ध नेपालीहरूले पनि आज दही–चिउरा खाएर असार १५ मनाउने गर्छन्।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्यका लागि घरबाट निस्कँदा वा विदेश जाँदा सगुनका रूपमा दही खुवाउने तथा दही–अक्षता लगाइदिने चलन अझै कायम छ। वैज्ञानिक दृष्टिले पनि दही पाचनका लागि लाभदायक मानिन्छ भने आयुर्वेदमा दहीबाट बनेको मोहीलाई स्वास्थ्यवर्द्धक पेयका रूपमा वर्णन गरिएको छ।
नेपालमा राष्ट्रिय धान दिवस विसं २०६२ सालदेखि मनाउन थालिएको हो। विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रत्येक वर्ष असार १५ गते यो दिवस मनाउने परम्परा सुरु भएको हो।
धान रोपाइँका बेला किसानहरू असारे भाका गाएर हिलोमा रमाउने परम्परा आज पनि जीवित छ। खेतमा हिलो छ्यापाछ्याप गर्दै मनोरञ्जन गर्ने र सामूहिक रूपमा रोपाइँ गर्ने संस्कृति नेपाली ग्रामीण जीवनको महत्वपूर्ण पक्ष मानिन्छ।
यस वर्ष भने मनसुन अपेक्षाअनुसार सक्रिय हुन नसक्दा मध्य असारसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा हुन सकेको छैन। वर्षा ढिलो हुँदा धान रोपाइँ प्रभावित भएको किसानहरूको गुनासो छ। केही स्थानमा रासायनिक मल अभावको समस्या पनि देखिएको छ। यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक रासायनिक मल पर्याप्त मौज्दात रहेको जनाएको छ।




