वातावरण सम्मेलनमा सहभागी हुन मन्त्री गीता चौधरी थाइल्यान्ड प्रस्थान

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आइतबार थाइल्यान्डको बैंककतर्फ प्रस्थान गरेकी छन्।

कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार भोलिदेखि सुरु हुने पाँचदिने सम्मेलनका क्रममा मन्त्री चौधरीले ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्व सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागिता जनाउनेछिन्।

सम्मेलनमा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन तथा दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका लागि अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने विषयमा छलफल हुनेछ।

मन्त्री चौधरीले ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’मा पनि भाग लिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

सम्मेलनका क्रममा उनले जलवायु परिवर्तनले नेपालजस्ता हिमाली मुलुकमा पारेको प्रभाव, वातावरण संरक्षणका लागि नेपालले अवलम्बन गरेका प्रयास तथा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा भएका प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्