भदौ २३ र २४ मा लोकतन्त्र सिध्याउने प्रतिगामी षड्यन्त्र भयो: ओली

काठमाडौं — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौमा भएको घटनालाई लोकतन्त्र र वामपन्थी आन्दोलनविरुद्धको प्रतिगामी षड्यन्त्र भएको आरोप लगाउनुभएको छ।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त घटनाले वैधानिक सरकारलाई अवैधानिक रूपमा विस्थापित गरेको दाबी गर्नुभयो।

उहाँले नेपालको वामपन्थी आन्दोलन मात्र नभई लोकतन्त्रलाई नै निशाना बनाएर योजनाबद्ध रूपमा षड्यन्त्र गरिएको आरोप लगाउँदै त्यसलाई लोकतान्त्रिक आन्दोलनका रूपमा स्वीकार गर्न नसकिने बताउनुभयो।

ओलीले सरकार गठन, परिवर्तन वा अपदस्थ गर्ने अधिकार संसद्को हुने उल्लेख गर्दै वैधानिक संसद् बलजफ्ती विघटन गरेर लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गरिएको दाबी गर्नुभयो।

“लोकतान्त्रिक सरकारलाई त्यसरी विस्थापित गर्न पाइँदैन। सरकार बनाउने, अपदस्थ गर्ने र फेर्ने काम संसद्ले गर्ने हो। वैधानिक सरकार ढालेर अवैधानिक सरकार गठन गर्न मिल्दैन,” उहाँले भन्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्