दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएकाले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले जारी गरेको सार्वजनिक सूचनाअनुसार भारतको उत्तराखण्ड राज्यस्थित एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला–पिथौरागढ ले सिल्ट सफाइ कार्यका लागि बाँधको ढोका खोल्ने जानकारी गराएको हो।
सूचनामा उल्लेख गरिए अनुसार २०८३ असार १२ गते शुक्रबार बिहान ६ बजेदेखि २०८३ असार १३ गते शनिबार अपराह्न ५ बजेसम्म (जुन २६ बिहान ६ बजेदेखि जुन २७ अपराह्न ५ बजेसम्म) करिब ३५ घण्टा बाँधको ढोका खुला रहनेछ।
बाँधबाट पानीको बहाव बढ्न सक्ने भएकाले उक्त अवधिमा तथा त्यसपछिका केही समयसम्म महाकाली नदीको जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीद्वारा जारी सूचनामा महाकाली नदी किनार तथा तटीय क्षेत्रका बासिन्दा, किसान, व्यवसायी तथा नदी आसपास आवतजावत गर्ने सर्वसाधारणलाई आवश्यक पूर्वसतर्कता अपनाउन अनुरोध गरिएको छ। प्रशासनले नदी किनारमा अनावश्यक रूपमा नजान, पशुचौपाया तथा सामग्री सुरक्षित स्थानमा सार्न तथा सम्भावित जोखिमबाट बच्न स्थानीय तह र सुरक्षा निकायको सूचनालाई पालना गर्न आग्रह गरेको छ।
महाकाली नदीको बहाव बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूले समेत आवश्यक निगरानी तथा तयारी अवस्थामा रहन प्रशासनले निर्देशन दिएको छ।






