रास्वपा महाधिवेशन: केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, १६ सयभन्दा बढी मत खस्यो

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी रहेको छ। बुधबार राति अबेर सुरु भएको मतदान बिहीबार दिउँसो १२ बजेसम्म सञ्चालन हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। विद्युतीय मतदान प्रणालीमार्फत भइरहेको निर्वाचनमा हालसम्म १६ सयभन्दा बढी प्रतिनिधिले मतदान गरिसकेको जानकारी मतदान व्यवस्थापनको जिम्मा लिएको राम–लक्ष्मण इनोभेसनका लक्ष्मण रिमालले दिएका छन्। उनका अनुसार करिब तीन हजार मत खस्ने अनुमान गरिएको छ।

महाधिवेशनमा चार हजार एक सयभन्दा बढी प्रतिनिधि भए पनि मतदान प्रक्रिया ढिलो सुरु भएकाले केही प्रतिनिधि मतदानअघि नै घर फर्किएको बताइएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी परेको छ। खुलातर्फ २१० जना र भूगोलतर्फ १७४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रदेशगत प्रतिनिधित्वअन्तर्गत सातवटै प्रदेशबाट पाँच-पाँच जना गरी ३५ जना निर्वाचित हुने व्यवस्था गरिएको छ। उम्मेदवार संख्याअनुसार मधेस प्रदेशबाट २०, कोशीबाट २०, गण्डकीबाट २७, बागमतीबाट २७, लुम्बिनीबाट ३१, कर्णालीबाट ३१ र सुदूरपश्चिमबाट १८ जना प्रतिस्पर्धामा रहेका छन्। रास्वपाको विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने बाँकी सदस्य पछि मनोनयन गरिने व्यवस्था छ। यसअघि उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भइसके पनि मतदान गर्ने प्रतिनिधिहरूको नामावली टुंगो लगाउन ढिलाइ हुँदा निर्वाचन प्रक्रिया प्रभावित भएको थियो। बुधबार बिहान ८ बजे सुरु गर्ने कार्यतालिका रहे पनि मतदान मध्यरातपछि मात्र सुरु भएको थियो।

निर्वाचन प्रक्रिया पटक–पटक लम्बिएपछि असन्तुष्ट बनेका केही प्रतिनिधिहरूले मतदान बहिष्कारको नारा लगाएका थिए। त्यसपछि महाधिवेशन स्थलको सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। मध्यरातदेखि मतदान सुरु भएसँगै अहिले प्रतिनिधिहरू लामबद्ध रूपमा मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यको नतिजा सार्वजनिक भएपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीसहितका पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्