रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मतदान हुदैँ, करिब ४ सय उम्मेदवार मैदानमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। भरतपुरमा जारी महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार दाबी–विरोध तथा उम्मेदवारी फिर्तापछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि उम्मेदवारको विवरण रुजु गरी विद्युतीय मतदान प्रणालीमा प्रविष्ट गर्ने कार्य सम्पन्न गरिनेछ।

निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। विभिन्न समावेशी तथा समूहगत ‘क्लस्टर’ अनुसार पनि उम्मेदवारहरू प्रतिस्पर्धामा रहेकाले मतदान प्रक्रिया केही लामो हुन सक्ने अनुमान गरिएको छ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले मोबाइलमार्फत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ। महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ।

यसअघि पार्टी सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारी चयनको प्रक्रिया अघि बढाइनेछ।

दोस्रो चरणको निर्वाचनबाट एक उपसभापति, दुई महामन्त्री र तीन सहमहामन्त्री गरी कुल ६ पदाधिकारी चयन गरिनेछ। पार्टी नेतृत्वले आजै रातिसम्म पहिलो चरणको निर्वाचन सम्पन्न गरी पदाधिकारी चयनको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

यसैबीच, महाधिवेशनमा सहभागी हुन चितवन पुगेका पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मंगलबार काठमाडौं फर्किएका छन्। महाधिवेशनको उद्घाटन तथा बन्दसत्रमा सहभागी भएका शाह निर्वाचन प्रक्रिया सम्पन्न हुनुअघि नै राजधानी फर्किएका हुन्।

गत आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन सोमबार नै सम्पन्न गर्ने कार्यतालिका रहे पनि निर्वाचन प्रक्रियाका कारण कार्यक्रम लम्बिएको छ। महाधिवेशनबाट पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना तथा नीतिगत दिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्