उदयपुर – उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा महोत्तरीको बर्दिवास नगरपालिकास्थित ५५ वर्षीय विमलेस दत्तको मृत्यु भएको हो।
महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा विद्यालयका कर्मचारी तथा स्टाफहरू सवार रहेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि विराटनगर पठाइएको छ। अन्य घाइतेहरूको उपचार उदयपुरस्थित विभिन्न स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाको विस्तृत विवरण संकलन तथा घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।






