काठमाडौं – काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरपालिकाको छात्रवृत्ति परीक्षा समितिले आज न्यूनतम ४० अंक प्राप्त गरेका उम्मेदवारहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा सार्वजनिक गरेको हो।
यो छात्रवृत्ति कार्यक्रम महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालन गरिएको थियो। छात्रवृत्ति परीक्षा समिति संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालका अनुसार परीक्षामा सहभागी २२ हजार परीक्षार्थीमध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
विद्यार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी नतिजा हेर्न, स्कोर डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ। प्रारम्भिक नतिजाप्रति चित्त नबुझ्ने उम्मेदवारहरूलाई पुनर्योगका लागि असार २० गतेसम्म निवेदन दिने अवसर प्रदान गरिएको छ।
महानगरपालिकाले छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र गुणस्तरीय बनाउने उद्देश्यले प्रत्येक वर्ष यस्तो परीक्षा सञ्चालन गर्दै आएको छ।







