काठमाडौं – साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को उपाधि जित्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा बैंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो। गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बैंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टोलीको जितमा विराट कोहलीले अविजित ७५ रनको शानदार इनिङ्स खेले। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। भेङ्कटेश अय्यरले ३२ रनको योगदान दिए।
गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कागिसो रबाडा र अर्शद खानले समान १-१ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए भने निशान्त सिन्धुले २० तथा जस बटलरले १९ रन जोडे। बैंगलुरुका लागि रसिख सलामले ३ विकेट लिएर उत्कृष्ट बलिङ गरे। जोश हेजलउड र भुवनेश्वर कुमारले समान २-२ विकेट लिए भने क्रुनाल पाण्ड्याले १ विकेट हात पारे।
बैंगलुरुले यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई पराजित गरेको थियो। टोली लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो। गत संस्करणमा पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक आईपीएल उपाधि जितेको बैंगलुरुले यसपटक उपाधि रक्षा गर्दै नयाँ इतिहास रचेको छ। लगातार दुई आईपीएल उपाधि जित्ने बैंगलुरु प्रतियोगिताको तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ मा तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए।
आईपीएल इतिहासमा सर्वाधिक सफल टोलीका रूपमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स समान ५–५ उपाधिसहित शीर्ष स्थानमा छन्। कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले समान १–१ पटक उपाधि जितेका छन्।






