रवि लामिछाने आज भारत भ्रमणमा, रास्वपाले महाधिवेशन तयारी तीव्र बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने हुनुभएको छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उहाँ जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुनेछ। साथै भारतीय जनता पार्टीका शीर्ष नेताहरूसँग भेटघाट तथा विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। भ्रमणका अवसरमा उहाँले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नुहुनेछ। साथै अयोध्याको भ्रमण गर्ने कार्यक्रमसमेत तय भएको छ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी रहनेछन्। पार्टीका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ। रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यसैबीच रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै मूल आयोजक समिति गठन गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठित समितिले महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र संगठनात्मक रूपमा थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ। महाधिवेशनलाई सफल बनाउन गठन गरिएको मूल आयोजक समितिमा उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, मनीष झा, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाललगायत नेताहरू सदस्य रहेका छन्। साथै पार्टीका सबै केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि तयारी प्रक्रियामा समेटिएको छ।

यसैबीच पार्टी सचिवालय बैठकले संगठन विस्तार, महाधिवेशन तयारी तथा समसामयिक राजनीतिक विषयलाई मुख्य कार्यसूची बनाएर विस्तृत छलफल गरेको छ। बैठकमा संगठन सुदृढीकरण, पार्टीका पछिल्ला गतिविधिको समीक्षा, अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागको मनोनयन, सम्भावित कारबाहीका विषय, प्रदेश अधिवेशन सञ्चालन कार्यविधि तथा महाधिवेशनसँग सम्बन्धित संरचनागत तयारीबारे समेत छलफल भएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्