दार्चुला- दार्चुलाका स्थानीय तहहरूमा गत आर्थिक वर्ष २०८१/०८२ मा कुल ९ करोड १५ लाख ५१ हजार रुपैयाँ बेरुजु कायम भएको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालय ले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकामध्ये शैल्यशिखर नगरपालिका मा सबैभन्दा बढी तथा अपिहिमाल गाउँपालिका मा सबैभन्दा कम बेरुजु देखिएको हो ।
प्रतिवेदनअनुसार शैल्यशिखर नगरपालिकामा १ अर्ब २२ करोड ४३ लाख १३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ७३ लाख ८७ हजार रुपैयाँ अर्थात् २.२४ प्रतिशत बेरुजु कायम भएको छ । त्यस्तै दुहुँ गाउँपालिकामा १ करोड ७७ लाख ३६ हजार रुपैयाँ, व्यास गाउँपालिका मा ८८ लाख १९ हजार रुपैयाँ तथा लेकम गाउँपालिका मा ९५ लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यसैगरी महाकाली नगरपालिकामा ९९ लाख १ हजार रुपैयाँ, नौगाड गाउँपालिका मा ५३ लाख १३ हजार रुपैयाँ, मालिकार्जुन गाउँपालिकामा ६९ लाख ४ हजार रुपैयाँ तथा मार्मा गाउँपालिका मा ४३ लाख ९४ हजार रुपैयाँ बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बेरुजु अपिहिमाल गाउँपालिकामा १५ लाख ६७ हजार रुपैयाँ अर्थात् ०.२ प्रतिशत मात्रै देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले असुल गर्नुपर्ने रकम उल्लेख गरे पनि अधिकांश बेरुजु हालसम्म फर्छ्योट हुन सकेको छैन । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका स्थानीय तहमा १४ करोड ५५ लाखभन्दा बढी बेरुजु थपिएको थियो । यस वर्ष भने बेरुजु रकम केही घटेको देखिएको छ ।
प्रतिवेदनमा स्थानीय तहहरूले राजस्वबाट प्राप्त रकम पदाधिकारीको सेवा-सुविधा, भ्रमण, इन्धन, खाद्य खर्च तथा निकटका व्यक्तिलाई कर्मचारी नियुक्तिमा बढी खर्च गर्ने प्रवृत्ति देखिएको उल्लेख गरिएको छ । आर्थिक कार्यविधि ऐन र प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया पूरा नगरी आर्थिक कारोबार गर्नु, लेखा अभिलेख व्यवस्थित नराख्नु तथा अनियमित खर्च गर्नु बेरुजुको मुख्य कारण भएको प्रतिवेदनले औँल्याएको छ ।







