प्याङ्गोलिन ट्राभल्सका सुरेश खत्रीलाई ‘द योङ्गेस्ट ट्राभल आन्टरप्रेनर अवार्ड’

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा आधुनिक सोच, प्रविधि र अन्तर्राष्ट्रिय पहुँचमार्फत योगदान पुर्‍याउँदै आएका प्याङ्गोलिन ट्राभल्स प्रा. लि.का प्रबन्ध निर्देशक सुरेश खत्रीले ‘विङ्स अण्डर फोर्टी’ कार्यक्रममा ‘द योङ्गेस्ट ट्राभल आन्टरप्रेनर अवार्ड’ जितेका छन्।

काठमाडौंस्थित होटल लो मुस्ताङमा वैशाख २५ गते आयोजित विशेष कार्यक्रममा प्याङ्गोलिन ट्राभल्सले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको तथा युवा उमेरमै उल्लेखनीय प्रगति गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

सुरेश खत्री पछिल्लो समय आईएटा प्रमाणपत्र प्राप्त गर्दै ट्राभल व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउने कान्छा उद्यमीमध्येका एकका रूपमा परिचित छन्।

प्याङ्गोलिन ट्राभल्स प्रा. लि.ले टिकटिङ, होटल बुकिङ, भिसा सेवा तथा होलिडे प्याकेजमा विशेष सेवा दिँदै आएको छ। साथै कम्पनीले मेरोउडान डट कम सञ्चालनमा ल्याइसकेको छ। जापान, अष्ट्रेलिया तथा अमेरिकी गन्तव्यका हवाई टिकटिङमा कम्पनीको विशेष दख्खल रहेको बताइएको छ।

अवार्ड प्राप्त गरेपछि सुरेश खत्रीले आफ्नो मेहनत र दृष्टिकोणको कदर गर्दै सम्मान प्रदान गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरेका छन्। उनले युवा उद्यमीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमको आवश्यकता औँल्याए।

ग्लोबल एक्रिडिएसन काउन्सिलद्वारा आयोजित कार्यक्रममा सह-आयोजकका रूपमा यात्रा म्यागेजिन रहेको थियो भने फोन पे, एसआरएम भीजी तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सले प्रायोजन गरेका थिए।

कार्यक्रममा ‘ग्लोबल भिसा सेवा डट कम’ नामक अनलाइन सेवा पनि सार्वजनिक गरिएको थियो, जसबाट विभिन्न प्रकारका भिसा आवेदन अनलाइनमार्फत प्रक्रिया गर्न सकिने जनाइएको छ।

‘विङ्स अण्डर फोर्टी’ कार्यक्रममा ४० वर्षमुनिका युवा उद्यमीले सञ्चालन गरेका ट्राभल एजेन्सी तथा सञ्चालकलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्