काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका अनुसार यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले विगतको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको हो ।
यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् । बोर्डले नतिजा सार्वजनिक भएपछि आधिकारिक वेबसाइट, एसएमएस तथा विभिन्न माध्यमबाट हेर्न सकिने जनाएको छ ।





