काठमाडौं – सरकारले पर्सिदेखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । बजारमा हुने अनियमितता, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गर्न लागिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न अभियान सञ्चालन गर्न लागिएको हो । विशेष अभियान पर्सिदेखि सुरु भई जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत देशभरका स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका वस्तु तथा सेवा प्रदायक व्यवसायीलाई अनिवार्य रूपमा मूल्यसूची राख्न आग्रह गर्ने तथा नियमित अनुगमन गर्ने जनाइएको छ ।
सरकारले उपभोक्तालाई सही मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।





