काठमाडौं – खोटाङ हलेसी सेवा समाज काठमाडौं र लायन्स क्लब अफ काठमाडौं न्यू ग्रिन सिटी/लायन्स क्लब अफ काठमाडौं मिराकल सिटीको संयुक्त आयोजना तथा कान्तिपुर अस्पतालको सहकार्यमा काठमाडौँको गोठाटार स्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा बृहत रक्तदान कार्यक्रम तथा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सामाजिक सेवाको उद्देश्यसहित आयोजित कार्यक्रममा झण्डै ५० जनाले रक्तदान गरेका थिए भने करिब ४ सय जनाले निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा लिएका आयोजकले जनाएको छ । शिविरमा सहभागीहरूलाई विशेषज्ञ चिकित्सकमार्फत आँखा परीक्षण, आवश्यक परामर्श तथा उपचारसम्बन्धी सुझाव प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अर्किड स्कुलका संस्थापक प्रेमकुमार भुजेलले समाजमा स्वास्थ्य सचेतना र मानवीय सेवाको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
त्यस्तै, खोटाङ हलेसी सेवा समाज काठमाडौंका अध्यक्ष इन्दा थापाले रक्तदान जीवनदान भएकाले सबैलाई नियमित रक्तदान गर्न आग्रह गर्दै समाजले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेत्र रोग विशेषज्ञ डा. छबिरमण दाहालले आँखाको स्वास्थ्यप्रति समयमै सचेत हुनुपर्ने आवश्यकता औंल्याए । उनले नियमित आँखा परीक्षणले सम्भावित जटिल रोगबाट बच्न सहयोग पुग्ने बताउँदै ग्रामीण तथा शहरी समुदायमा यस्ता शिविरले ठूलो राहत प्रदान गर्ने धारणा राखे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सहसचिव देवराज कटवाल, प्रहरी उपरीक्षक मिलन केसी, खोटाङ हलेसी सेवा समाज काठमाडौंका संस्थापक अध्यक्ष गोविन्द भट्टराई, खोटाङ हलेसी सेवा समाज काठमाडौंका पूर्व अध्यक्ष तथा सल्लाहकार कर्णराज कटवाल, कानुनी सल्लाहकार देवराज कटवाल, उपाध्यक्षा जगत प्रसाद घिमिरे, पूर्व अध्यक्ष राजु लयालु, अर्किड स्कुलका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्की, शिक्षक, शिक्षिका लागयत विभिन्न सामाजिक व्यक्तित्व, स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।






