दार्चुला – हिमाली जिल्ला दार्चुलाको व्याँस गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन् । नेपाली सेनाले तुषारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि शुक्रबार सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।
तुषारपानीदेखि तिङ्करसम्म निर्माणाधीन ७९ किलोमिटर सडक योजनाअन्तर्गत नेपाली सेनाले हालसम्म २२ दशमलव १५ किलोमिटर सडक ट्र्याक खोलिसकेको जनाएको छ । अहिले सञ्चालनमा आएको १२ किलोमिटर सडक खण्डले दुम्लिङ गाउँलाई प्रत्यक्ष सडक पहुँचमा जोडेको छ । दशकौँदेखि पैदल यात्रामै निर्भर स्थानीयवासीले अब दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामी ओसारपसार तथा आवतजावतमा ठूलो सहजता हुने बताएका छन् । सडक पुगेपछि दुर्गम व्यास क्षेत्रको जनजीवनमा परिवर्तन आउने अपेक्षा गरिएको छ ।
नेपाली सेनाले आर्थिक वर्ष २०७७/०७८ देखि यो सडक निर्माण कार्य अघि बढाएको हो । चीन सीमासम्म जोडिने तिङ्कर नाका सडकलाई रणनीतिक र विकासका दृष्टिले महत्वपूर्ण मानिएको छ । सेनाले बाँकी सडक निर्माण कार्यलाई पनि तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ ।






