काठमाडौं –लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूह र लायन्स क्लब अफ काठमाडौं गोल्डेन हर्टको संयुक्त आयोजनामा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा रहेका अटिजम तथा सुस्त मनस्थिति भएका बालबालिकालाई खाद्यान्न, फलफूल, लत्ताकपडा तथा मेच सहयोग गरिएको छ ।
सामाजिक सेवाको उद्देश्यसहित आयोजित कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूले केन्द्रमै पुगेर आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको स्वास्थ्य, शिक्षा र दैनिक आवश्यकताबारे समेत जानकारी लिइएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहका प्रेसिडेन्ट विनय त्रिपाठीले यस्ता सहयोगमूलक कार्यक्रमले समाजमा मानवीय भावना र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने बताए । उनले विगत वर्षहरूदेखि नै क्लबले विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
त्यस्तै, लायन्स क्लब अफ काठमाडौं गोल्डेन हर्टका प्रेसिडेन्ट रामप्रसाद सापकोटाले विशेष आवश्यकता भएका बालबालिकाको संरक्षण र हेरचाहमा सबै पक्षको साथ आवश्यक रहेको बताउँदै सामाजिक संघसंस्थाले यस्ता केन्द्रहरूसँग सहकार्य गर्दै सहयोग बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रकाश खत्री, दिलीप राज गिरी, जीवन भट्टराई, केदारप्रसाद न्यौपाने, चक्रबहादुर न्यौपाने, अमरबहादुर बनियाँ, किशोर खड्का, सुशीला चौलागाईं तथा शर्मिला केसी लगायतको सहभागिता रहेको थियो ।