वैशाख २८ गते राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौं – सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते सोमबार दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार संसद्का सदस्यहरूको उपस्थितिका लागि पनि आह्वान गरिनेछ । मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूलाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावअनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ । त्यसैगरी श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि १९४७ नम्बर ८१ लाई पनि अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

सरकारले यी निर्णयले अन्तर्राष्ट्रिय श्रम मापदण्ड तथा श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्