जेठ १५ मा बजेट ल्याउने तयारी तीव्र

काठमाडौं – सरकारले सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्र बनाएको छ । यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को बैठक बोलाइएको छ । वर्षे अधिवेशनका रूपमा लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनेछ ।

हरेक वर्षझैँ आगामी जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बजेट अधिवेशनका लागि आवश्यक तयारी भइरहेको छ । अर्थमन्त्री वाग्लेले बजेट निर्माण प्रक्रियालाई तीव्र पार्दै विभागीय मन्त्री, सचिव, सांसद तथा अन्य सरोकारवालासँग छलफललाई निरन्तरता दिनुभएको छ । सरकारले यस पटकको बजेटलाई रुपान्तरणकारी बनाउने तयारी गरेको जनाइएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तय गरेको छ । बजेट लेखनका लागि अर्थ मन्त्रालयले सहसचिव उत्तर खत्रीको संयोजकत्वमा समिति गठन गरिसकेको छ । उक्त समितिले विनियोजन विधेयकको मस्यौदा तयार पार्ने काम गरिरहेको छ । सरकारले साना तथा टुक्रे आयोजनामा बजेट विनियोजन नगर्ने नीति लिएको छ । अर्थमन्त्री वाग्लेले सांसदसँगको छलफलमा अनावश्यक दौडधुप नगर्न आग्रह गर्दै बजेटलाई सन्तुलित र न्यायोचित बनाइने बताउनुभएको छ ।

सांसदहरूले दुर्गम तथा पिछडिएका क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न माग गरेका छन् । अर्थमन्त्री वाग्लेले सम्बन्धित मन्त्रालयबाट आएका योजनालाई आवश्यक अध्ययनपछि बजेटमा समावेश गरिने बताउँदै आउनुभएको छ । सरकारले आगामी बजेटलाई समग्र नेपाल केन्द्रित बनाउने तयारी गरेको छ । बजेट निर्माण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य राखिएको जनाइएको छ । बजेट विनियोजनलाई केन्द्र, प्रदेश र स्थानीय तहबीच स्पष्ट रूपमा बाँडफाँट गरेर विकासलाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।

यसैबीच अर्थ मन्त्रालयले सर्वसाधारण, निजी क्षेत्र तथा विभिन्न सरोकारवाला निकायसँग बजेटका लागि सुझाव मागिसकेको छ । प्राप्त सुझावलाई समेटेर आगामी आर्थिक वर्षको बजेट तयार पारिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्