काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा ‘स्मार्ट मनी टक्स’ कार्यक्रम सम्पन्न गरेको छ। नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल ले वित्तीय साक्षरताको महत्वबारे प्रकाश पार्नुभयो।
विद्यार्थीहरूलाई सम्बोधन गर्दै खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि नै आवश्यक रहेको उल्लेख गर्दै यसले पैसाको उचित व्यवस्थापन र सदुपयोग गर्न सिकाउने बताउनुभयो। उहाँले युवा तथा विद्यार्थीहरूले वित्तीय ज्ञानमा अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै बैंकले यस विषयलाई निरन्तर प्राथमिकता दिँदै आएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार बढ्दो सूचना प्रविधिको प्रयोगले वित्तीय कारोबार सहज बनाएको भए पनि जोखिम र चुनौती समेत थपिएको छ। विशेष गरी डिजिटल माध्यमबाट हुने ठगी तथा दुरुपयोगका घटनाप्रति सचेत रहनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
खनालले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन, एसएमएस तथा सामाजिक सञ्जालका शङ्कास्पद लिङ्कहरू नखोल्न आग्रह गर्दै सित्तैमा पैसा दिने प्रलोभन वा सानो रकमबाट ठूलो लाभको आश्वासन दिने जस्ता ठगीबाट टाढा रहन विद्यार्थीहरूलाई सचेत गराउनुभयो। कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्टसहित बैंकका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
हरेक वर्ष मार्च १६ देखि २२ सम्म विश्वभर मनाइने ग्लोबल मनी विकका अवसरमा बैंकले देशभर वित्तीय साक्षरता अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।






