नदी किनार हटाइएका परिवारको विवरण सङ्कलन र स्वास्थ्य सेवा जारी

काठमाडौं । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत घर–टहरा हटाइएपछि विस्थापित भएका नागरिकहरूको विवरण सङ्कलन तथा स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ।

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अस्थायी कार्यालय स्थापना गरी विस्थापित परिवारहरूको व्यवस्थापन, विवरण दर्ता र स्वास्थ्य परीक्षण एकैसाथ अघि बढाएको हो।

आज मात्रै उपत्यकाका विभिन्न स्थानबाट आएका झन्डै २ सय ६० परिवारले नाम दर्ता गराएका छन्। यससँगै हालसम्म दर्ता हुने परिवारको सङ्ख्या ५ सय ७० पुगेको छ।

सञ्चालित स्वास्थ्य शिविरमार्फत ८५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। परीक्षणका क्रममा तीन जना गर्भवती महिलाको स्वास्थ्य जाँच गरिएको छ भने १५ जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि थप परामर्शका लागि सिफारिस गरिएको जनाइएको छ।

आजदेखि टिटानस खोप लगाउने तथा घाउ–चोटको उपचार सेवा पनि सुरु गरिएको छ। स्वास्थ्यकर्मीका अनुसार विस्थापित परिवारमा सामान्य चोटपटक, तनावजन्य समस्या र सरसफाइसँग सम्बन्धित स्वास्थ्य समस्या बढी देखिएका छन्।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियान आज पनि जारी रह्यो। संघीय सरकार, काठमाडौँ महानगरपालिका, सुरक्षा निकाय र उपत्यका विकास प्राधिकरणको संयुक्त टोलीले विशेष गरी नदी किनार तथा जोखिमयुक्त बस्ती क्षेत्रमा डोजर चलाएको हो।

दोस्रो चरणअन्तर्गत रुद्रमति, घट्टेकुलो, स्वयंभू र बालाजु क्षेत्रमा बिहानैदेखि संरचना हटाउने काम गरिएको छ। आज मात्र ६ सयभन्दा बढी अनधिकृत घरटहरा हटाइएको जनाइएको छ।

यसअघि हिजो बल्खु, टेकु, वंशीघाट र शंखमूललगायत क्षेत्रमा ७ सय ४४ घरटहरा भत्काइएको थियो भने ३ सय २३ परिवार सरकारी सम्पर्कमा आएका थिए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार नदी किनार क्षेत्रमा अव्यवस्थित रूपमा बसोबास गर्ने झन्डै ३ हजार ४ सय ५९ परिवार रहेका छन्।

सरकारले असुरक्षित क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित आश्रयस्थल उपलब्ध गराउँदै दीर्घकालीन व्यवस्थापन प्रक्रिया अघि बढाइएको जनाएको छ। यद्यपि केही स्थानमा स्थानीयले लालपूर्जा रहेको दाबी गर्दै विरोध जनाएका छन् भने माइतीघरमा अभियानविरुद्ध प्रदर्शनसमेत भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्