संविधान संशोधन विधेयकका विषयमा एकमत कायम गर्न सभामुखको आग्रह

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकका विषयमा एकमत कायम गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सबै दलले छलफल गरेर संविधान संशोधनको विषयमा समाधान धारणा कायम गर्न आग्रह गरेका हुन् ।

‘यसका निम्ति दलहरुसँग छलफलको पहल म पनि गर्छु । यहाँहरुले पनि यसतर्फ ध्यान दिनुहोला’ उनले बैठकमा भने ।

सरकारले संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्सा हालै सरकारले जारी गरेको नक्साअनुसार अद्यावधिक गर्न शुक्रबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयक दर्ता गराएको छ ।

बैठकमा राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदले भने आफूहरुको माग नसमेटी संविधान संशोधन विधेयक ल्याएकामा असन्तुष्टि जनाएका छन् ।

राजपाका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका उमाशंकर अरगरियाले संसदमा पेश भएको संविधान संशोधन विधेयकमा मधेसको माग संबोधन गर्न माग गरे ।

‘विवादरहित ढंगले समान धारणा लैजाने विषयमा हाम्रो विमति रहेन’ कर्णले बैठकपछि पत्रकारसँग भने ‘यसपटक संविधान संशोधनको विषयमा संसदमा प्रस्ताव पेश गर्दा हाम्रा कुरा पनि सुनियोस् । त्यसका लागि सर्वक्षीय सर्वदलीय बैठक बस्न आवश्यक छ । सभामुखले पहल गर्नुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्