सुदूरपश्चिम नागरिक समाजद्वारा नयाँ नक्सा जारी गर्ने कार्यको स्वागत, सीमा अतिक्रमण सदाको लागि अन्त गर्न माग

काठमाडौं – सुदूरपश्चिम नागरिक समाजले नेपालको नयाँ नक्सा जारी गर्ने सरकारी कदमको स्वागत गरेको छ ।

समाजका तर्फबाट त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयका प्राध्यापक, कानून व्यवसायी, लेखक, अध्येता, बुद्धिजिवी एवं विभिन्न क्षेत्रमा क्रियाशील नागरिक समाजका ४५ जना सदस्यले विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् ।

लिम्पियाधुरा क्षेत्रको कुटी, नाभी र गुन्जीका बासिन्दाले नेपाली प्रशासनअन्तर्गत राजश्व तिरेका र त्यहाँका रैतीका नाममा राणाकालमा समेत सनद, इस्तिहार जारी गरेकोले कालीको मुहान लिम्पियाधुरा रहेकोमा विवाद नभएको विज्ञप्तिमा उल्लेख छ ।

‘इस्ट इण्डिया कम्पनी र सर्भे अफ इण्डियाबाट सन् १८१६, सन् १८१९, सन् १८२६, सन् १८२७, सन् १८३०, सन् १८३४, सन् १८३५ र १८५५–५६ मा प्रकाशित सम्पूर्ण नक्साहरुमा महाकालीको मुहान लिम्पियाधुरा नै किटान गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ,’ नेपाल सरकारले लिम्पियाधुरा सम्मका गुन्जी, नाभी र कुटी गाउँहरुको वि.सं. २०१८ सालसम्म जनगणना गराएको अभिलेख हामीसँग सुरक्षित छ ।’

त्यस्तै, समाजले नेपाल सरकारले कुनै पनि परिस्थितिबाट प्रभावित नभई सीमा अतिक्रमणको विषयलाई सम्मानजनक रुपमा दुई पक्षीय, वहु पक्षीय वा अन्य आवश्यक कुटनीतिक माध्यमबाट चीन र भारतबीच सम्पन्न सन् २०१५ को सम्झौताको खारेज आग्रह गरेको छ ।

समाजले लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल तत्काल हटाउन माग गरेको छ ।

भारतीय सुरक्षाकर्मीले नेपालको सीमा क्षेत्रमा बस्ने सुदूरपश्चिमका नागरिकलाई पीडा दिएको भन्दै यस्तो कार्य बन्द गराउन पनि माग गरिएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्