विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउने सरकारको तयारी, उच्च स्तरीय समितिको बैठक बस्दै

काठमाडौ – कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटीमाथि छलफल भइरहेको सरकारले जनाएको छ । यसबारेमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्दैछ ।

प्रधानमन्त्रीले संसदमा नीति तथा कार्यक्रममाथिका प्रश्नहरुको जवाफ दिनुअघि उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने प्रक्रियाबारे छलफल गर्ने स्रोतले बतायो ।

लकडाउनकै बीचमा कतिपय देशबाट नागरिक उद्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि छलफल भइरहेको छ । ल्याएर राख्ने क्वारेन्टाइन तथा ल्याउने प्रक्रियाबारे धेरै चरणमा परामर्श भएर अब निर्णय प्रक्रियामा पुगेको स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिइरहेको छ । रोजगारी गुमाएर तत्कालै फर्किनुपर्ने अवस्थाकालाई विमान चार्टर गरेर ल्याउनुपर्ने देखिएको छ । भारतबाट फर्किरहेका नेपालीहरुको व्यवस्थापन झनै चुनौतिपूर्ण बनिरहेकाले अब सीमा क्षेत्रमा क्वारेन्टाइन व्यवस्थापनमा समेत नेपाली सेनालाई खटाउनेबारे छलफल भइरहेको एक मन्त्रीले बताए ।

भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुलाई तोकिएका क्वारेन्टाइनमा राख्ने,सुरक्षित घर सम्म लैजाने लगायतका योजना कोरोना संकट व्यवस्थापन समिति (सिसिएमसी)ले तयार पारिसकेको छ । ती योजनामाथि आजको उच्चस्तरीय समन्वय समितिमा छलफलपछि मन्त्रिपरिषदमा लैजाने स्रोतले जनाएको छ ।

विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउने तयारीका सन्दर्भमा उपप्रधानमन्त्री पोखरेलले सोमवार पनि सम्बन्धित मन्त्रीहरुसँग रक्षामन्त्रालयमा अनौपचारिक छलफल गरेका थिए । सरकारले वैदेशिक रोजगारीमा गएका करीव ५ लाख नेपाली स्वदेश फर्किने अनुमान गरेको छ । तर, तत्कालै उद्धार गर्नुपर्ने संख्या भने कमै रहेको एक मन्त्रीले बताए । अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्