पहिलो चरणको परीक्षा भइसकेका पदको पदपूर्ति नरोक्ने लोक सेवाको निर्णय

काठमाडौं – लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ ।

सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएर अवस्था सामान्य भएपछि हुने भएका छन् ।

यसअघि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि लोक सेवाले यी पदका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो । गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले हाललाई पदपूर्तिका सबै कार्यक्रम रोक्न लोक सेवा आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले यसअघि नै कुनै एक चरणको परीक्षा भएकाको हकमा परीक्षा रोक्न नमिल्ने अनौपचारिक धारणा सार्वजनिक गरेको थियो ।

सोमबार आयोगको बैठकले त्यसबारे औपचारिक निर्णय गरेको छ । ‘निजामती सेवाको हकमा कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण परीक्षा लिखित परीक्षा प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिक रुपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाहरुको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ,’ आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्