काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरेको छ। शनिबार सार्वजनिक गरिएको सूचीअनुसार विराटनगरले मार्की खेलाडी सन्दीप लामिछानेसहित ६ खेलाडीलाई निरन्तरता दिएको हो।
रिटेन गरिएका खेलाडीहरूमा सन्दीपसँगै लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी रहेका छन्। सन्दीपलाई यसअघि नै मार्की खेलाडीको रूपमा निरन्तरता दिइने घोषणा गरिएको थियो। उनी अघिल्लो सिजनमा विराटनगर किङ्सका कप्तान थिए।
पहिलो सिजनमा विराटनगर किङ्सको प्रदर्शन अपेक्षित अनुसार हुन सकेन। टोलीले खेलेका ७ मध्ये २ खेल मात्र जित्दै अंक तालिकामा आठ टिममध्ये सातौं स्थानमा सीमित रहनुपरेको थियो।
एनपीएल नियमअनुसार मार्की खेलाडीबाहेक हरेक टोलीले ६ खेलाडी रिटेन गर्न पाउने व्यवस्था छ। यो सन्दर्भमा सबै ८ फ्रेन्चाइज टिमले आफ्नो रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन्। एनपीएलको दोस्रो संस्करणका लागि आगामी अगस्ट महिनामा ‘मिनी अक्सन’ पनि हुने तय भएको छ, जसमा बाँकी खेलाडीको छनोट गरिनेछ। यो सिजन विराटनगर किङ्स सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।