अमेरिकाको टेक्सासमा विनाशकारी बाढी: २४ जनाको मृत्यु, सयौँको उद्धार

काठमाडौं – अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण अहिलेसम्म २४ जनाको ज्यान गइसकेको छ भने यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। सीएनएनले जनाएअनुसार शुक्रबार बिहानदेखि सुरु भएको मुसलधारे वर्षापछि ग्वाडालुपे नदी आसपासका क्षेत्रमा भयावह बाढी आएको हो।

गार्जियनका अनुसार केवल ४५ मिनेटभित्र नदीको सतह २६ फिट (झन्डै ८ मिटर)ले बढेपछि आसपासका क्षेत्रहरूमा डुबान सुरु भएको हो। बाढीले टेक्सासका विभिन्न क्षेत्रमा सडक र सञ्चार सञ्जाल पूर्णरूपमा ध्वस्त बनाएको छ। फलस्वरूप गम्भीर संकट उत्पन्न भएको बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ। उद्धार कार्यमा टेक्सास मिलिटरी डिपार्टमेन्ट, स्थानीय सुरक्षाकर्मीहरू, र स्वयंसेवकहरू खटिएका छन्। मेजर जनरल थोमस एम. सुएल्जरका अनुसार शुक्रबार रातिसम्म २३७ जनाभन्दा बढीको उद्धार गरिएको छ, जसमा धेरैलाई हेलिकोप्टरद्वारा सुरक्षित स्थानमा सारिएको हो।

विशेषगरी ग्वाडालुपे नदी किनारमा रहेको क्रिस्चियन समर क्याम्पमा रहेका २३ देखि २५ जना विद्यार्थी अझै बेपत्ता रहेका छन्। क्याम्प सान एन्टोनियो सहरदेखि १०५ किलोमिटर उत्तर–पश्चिममा पर्छ। उद्धारको लागि १४ हेलिकोप्टर, १२ ड्रोन र ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको कर काउन्टी अधिकारीहरूले जानकारी दिएका छन्।

रुख चढेर जीवन जोगाइरहेका केही बालबालिकालाई उद्धार गरिएको दृश्यहरूले घटनाको भयावहता झल्काउँछन्। टेक्सासका गभर्नर ग्रेग एबटले शनिबार उद्धारकार्य तीव्र रूपमा जारी रहेको बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नर एबटसँग सहकार्यमा संघीय सरकार उद्धार र राहत कार्यमा जुटिरहेको जानकारी गराउँदै बाढीलाई ‘डरलाग्दो र आश्चर्यजनक’ भनेका छन्। ट्रम्पले एयर फोर्स वनबाट पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी उनीहरूको हेरचाह गर्छौं।”

बाढीबाट प्रभावितको संख्यामा अझ वृद्धि हुन सक्ने र उद्धार तथा राहत कार्य केही दिनसम्म जारी रहने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्