काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले बैठकपछि जानकारी दिँदै भनिन्, “आज हामी संसदीय दलको बैठक बसेका थियौं। हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं।” हाल नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीका रूपमा सरकारमा सहभागी छन्। श्रेष्ठका अनुसार राज्यमन्त्री चौधरीले आइतबार (भोलि) प्रधानमन्त्री समक्ष राजीनामा बुझाउनेछन्।
सरकारबाट नाउपाको बहिर्गमनसँगै सत्तारूढ गठबन्धनमा नयाँ समीकरण र असर पर्ने विश्लेषण राजनीतिक वृत्तमा सुरु भएको छ।