काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) शृंखलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल ग्लासग्लोस्थित टितवूड मैदानमा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।
यसअघि नेपाल र नेदरल्याण्ड्सबीच भएको खेल रोमाञ्चक मोडमा पुगेको थियो। त्यो खेल तेस्रो सुपर ओभरसम्म पुगेपछि नेपालले पराजय भोग्नु परेको थियो। संयोगवश, सोही खेल नेपालका लागि १००औं टी–२०आई खेलको रुपमा पनि विशेष बन्यो।
नेपालले दोस्रो खेलमा भने घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको थियो। उक्त ‘लो स्कोरिङ’ खेल अन्तिम ओभरको पाँचौं बलसम्म पुगेको थियो, जसले खेलको प्रतिस्पर्धात्मकता झल्काउँछ।
नेदरल्याण्ड्सले हालसम्म शृंखलामा दुई जित निकाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ। पहिलो खेलमा उसले स्कटल्याण्डसँग ३९ रनले पराजय बेहोरेको थियो, तर त्यसपछि नेपाललाई सुपर ओभरमा हराएको थियो। पछिल्लो खेलमा भने उसले स्कटल्याण्डमाथि १७ रनको जित दर्ता गर्यो।
दुवै टिमबीच अहिलेसम्म भएको टी–२०आई इतिहासमा नेदरल्याण्ड्सले ८ खेल जितेको छ भने नेपालले ५ खेल आफ्नो पक्षमा पारेको छ। १ खेल भने नतिजाविहीन रहेको छ।
यो टी–२० शृंखला आईसीसी विश्वकप लिग २ अन्तर्गतको एकदिवसीय शृंखला सम्पन्न भएसँगै सुरु भएको हो, जसमा त्यही टोलीहरू सहभागी छन्।
आजको खेल नेपालका लागि बदला लिने र फाइनल सम्भावनालाई बलियो बनाउने अवसर समेत हुनेछ।