नागढुंगा–सिस्ने खोला सुरुङमार्ग पुसदेखि सञ्चालनमा, शुल्क प्रस्ताव मन्त्रिपरिषद्‌मा

काठमाडौं – नेपालकै पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने भएको छ। निर्माणको अन्तिम चरणमा पुगेको यो सुरुङमार्ग २०७६ सालको कात्तिक ४ गतेदेखि निर्माण थालिएको थियो। सुरुङमार्ग निर्माण आयोजना कार्यालयका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ।

सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार सुरुङभित्रको अधिकांश कार्य सम्पन्न भइसकेको छ भने काठमाडौँ र धादिङतर्फको बाँकी भौतिक संरचना निर्माण तीव्र गतिमा भइरहेको छ। काठमाडौँतर्फ बलम्बुस्थित किसिपिडीसम्म फ्लाइओभरमार्फत सवारीसाधन सुरुङमार्गमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि सिस्ने खोलाबाट बलम्बुसम्मको यात्रा समय ७ मिनेटमा झर्नेछ।

२०७६ सालमा सुरु गरिएको परियोजना ४२ महिनाभित्र सम्पन्न हुने लक्ष्य लिइएको भए पनि कोभिड महामारी र स्थानीय अवरोधका कारण ६७ महिना लाग्न पुगेको हो। हाल जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले तीव्र गतिमा बाँकी काम गरिरहेको छ।

सुरुङ प्रयोग गरेबापत सवारीसाधनले तोकिएको टोल शुल्क तिर्नुपर्नेछ। सडक विभागले प्रस्ताव गरेको शुल्क विभिन्न सवारी वर्गअनुसार फरक–फरक रहेको छ। टोल शुल्क प्रस्ताव मन्त्रिपरिषद्मा निर्णयार्थ पुगेको छ। प्रस्तावित शुल्कअनुसार कार, भ्यान, पिकअप जस्ता सवारीका लागि ७५ रुपैयाँ, मिनी ट्रक र टिपरका लागि १२५, बस र ट्रकका लागि २५०, र हेभी ट्रकका लागि ५ सय रुपैयाँ तोकिएको छ।

२ हजार ६ सय ८८ मिटर लम्बाइको मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटरको आपतकालीन सुरुङसहितको यो परियोजनाको कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ, जसमा जापानको सहुलियतपूर्ण ऋण १६ अर्ब र नेपाल सरकारको लगानी ६ अर्ब रुपैयाँ छ। सरकारले सुरुङ सञ्चालनमार्फत वार्षिक ३५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्