काठमाण्डौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभाका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
एमालेका सांसद ठाकुर धनुषा–३ (ख) क्षेत्रबाट निर्वाचित भएका हुन्। अख्तियारका अनुसार उनीहरूमाथि सार्वजनिक सम्पत्तिमा ६ करोड ७९ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ।
मुद्दासम्बन्धी विवरणअनुसार, धनुषाको औरही गाउँपालिकाले निर्माण गर्न लागेको १५ शय्याको अस्पतालको लागत अनुमान २४ करोड ४३ लाख थियो। त्यसमा १२ करोड ३५ लाखको प्रस्ताव पेश गर्ने ‘प्रतिष्ठा, धुलिखेल, एक्सिस एसिउन जेभी’ कम्पनीको सस्तो प्रस्तावलाई उपेक्षा गर्दै १९ करोड १४ लाखको महँगो प्रस्ताव दिने ‘लुम्बिनी, डीएण्डएन जेभी’ कम्पनीलाई ठेक्का दिइएको आरोप अख्तियारले लगाएको छ।
ठेक्का प्रक्रियामा अनियमितता गरेको भन्दै अख्तियारले औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुर, साथै वडाध्यक्षहरू आशेश्वर यादव, अमितकुमार यादव, गङ्गाप्रसाद यादव, शिवनाथ साह, प्रमेश्वर मण्डल, दिलिपकुमार साह, र इन्जिनियरहरू सोनु साह, सन्तोषकुमार मण्डल, बिनितकुमार साह, साथै खरिदार मोहनकुमार मण्डल र मनोजकुमार यादव विरुद्ध पनि मुद्दा दायर गरेको छ।
अख्तियारले उनीहरूमाथि सार्वजनिक पदको दुरुपयोग गर्दै मनपरी ढंगले ठेक्का प्रक्रियालाई प्रभावित पारी राज्यलाई आर्थिक हानि पुर्याएको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाएको हो।