देशभर गर्मीका बीच केही क्षेत्रमा वर्षा, आइतवारदेखि मनसुन सक्रिय हुने

काठमाण्डौ– देशभर बढ्दो गर्मीबीच पश्चिम तराई र काठमाण्डौ उपत्यकामा परेको वर्षाले केही राहत दिएको छ भने पूर्वी तराईमा भने अझै चर्को गर्मी कायमै रहेको छ।

पछिल्लो १२ घण्टामा दाङको पदमपुरमा ५२ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशका अधिकांश पहाडी भूभाग र लुम्बिनी प्रदेशका थुप्रै ठाउँमा पनि वर्षा भएको जलवायु विज्ञान विभागले जनाएको छ। यस्तै, काठमाण्डौ उपत्यका, सोलुखुम्बु, खोटाङलगायतका पूर्वी पहाडी जिल्लाहरूमा पनि हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाको बिहानी बुलेटिनअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

हाल कोशी प्रदेशका धेरैजसो क्षेत्रमा फैलिएको मनसुन प्रणाली शिथिल भएकाले देशभर तापक्रम बढेको हो। तथापि, एक नयाँ प्रणालीको प्रभावले गर्दा केही ठाउँमा वर्षा हुन थालेको छ।

मौसमविद्हरूका अनुसार बङ्गालको खाडीमा नयाँ न्यून चापीय क्षेत्र विकास हुँदैछ, जसको प्रभावले भोलिदेखि मनसुन क्रमशः सक्रिय हुँदै जाने अपेक्षा गरिएको छ।
शुक्रबारदेखि पानी पर्ने क्रम सुरु हुने र आइतवारदेखि देशका धेरै ठाउँमा रोपाइँ गर्न मिल्ने गरी वर्षा हुने सम्भावना रहेको विज्ञहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्