काठमाडौं – सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी लोकप्रिय गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
सानिभेरी गाउँपालिकाको बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिन गएकी रिमालको आकस्मिक रूपमा पेट दुखेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको हो। सुरुमा सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्जस्थित अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप परीक्षणका लागि मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ।
गायिका रिमाल हालकी व्यस्त र चर्चित गायिका मध्ये एक हुन्। स्वास्थ्यमा समस्या आए पनि स्रोतका अनुसार उनको अवस्था सामान्य बन्दै गएको छ।
रूकुममा उनले प्रस्तुति दिन नसकेपछि आयोजकले कार्यक्रम फेरबदल गर्नुपरेको थियो। उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभचिन्तकले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन्।