काठमाडौं – सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशनमा नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ।
महाधिवेशन स्थल कीर्तिपुरमा सोमबार अध्यक्ष पदका आकांक्षीबीच एकमत नजुटेपछि निर्वाचन समितिले आधिकारिक रूपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
सुजन कडरियाको नाम अध्यक्ष मण्डलबाट औपचारिक रूपमा प्रस्ताव गरिएको थियो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन पनि कडरियालाई रहेको जनाइएको छ। तर उनको नाम घोषणा भएलगत्तै हलमै नाराबाजी सुरु भएपछि विवाद उत्कर्षमा पुगेको थियो।
निर्वाचन समितिका अनुसार सोमबार अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारी फारम वितरण, ४ देखि ६ बजेसम्म दर्ता, र राति ८ बजेसम्म प्रारम्भिक नामावली सार्वजनिक गरिने कार्यतालिका तय गरिएको छ। मतदान भने भोलि (मंगलबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।
अध्यक्ष पदमा कडरियासहित दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले पनि दाबी गरेका छन्। निर्वाचनबाट अनेरास्ववियुको नयाँ नेतृत्व चयन हुने स्पष्ट भएको छ।