नेपाल टेलिकमको बिलिङ ठेक्का प्रकरण : अख्तियारद्वारा १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २५ – नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत सम्भारसम्बन्धी ठेक्का अनियमित रूपमा लम्ब्याइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरिएको छ। प्रतिवादीमा नेपाल टेलिकमका तत्कालीन उच्च पदस्थहरू सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा लगायत नेपाली र चिनियाँ नागरिक तथा एसिया इन्फो कम्पनीसमेत छन्।

के हो बिलिङ ठेक्का प्रकरण?

२०७९ पुसमा टेलिकम सञ्चालक समितिले एसिया इन्फो कम्पनीसँग करिब ३ अर्ब १५ करोड रुपैयाँको मर्मतसम्भार सम्झौता गरेको थियो। प्रतिस्पर्धा बिना चार वर्षको वार्षिक सम्झौता गरिनुका साथै आवश्यक परेमा एक वर्ष थप गर्ने प्रस्ताव समेत पारित गरिएको थियो।

अख्तियारको अनुसन्धानले प्रतिस्पर्धा नगरी ठेक्का लम्ब्याइएको, पुरानै प्रणालीलाई निरन्तरता दिइएको र सार्वजनिक खरिद ऐनको उल्लंघन भएको निष्कर्ष निकालेको छ।

टेलिफोन वा इन्टरनेट सेवामा बिलिङ प्रणाली अत्यावश्यक हुन्छ। यही प्रणालीमार्फत उपभोक्ताको सञ्जाल, ब्यालेन्स, तथा सम्पर्क सेवा नियमित हुन्छ।यसैको आधारमा अख्तियारले अनियमित सम्झौता तथा निर्णय प्रक्रियामा संलग्नहरूलाई भ्रष्टाचार मुद्दामा तानेको हो।
अब अदालतमा यो प्रकरणले कुन मोड लिन्छ भन्ने चासोको विषय बन्न पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्