काठमाडौं, जेठ २५ – काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि पाँच दिनका लागि दैनिक केही घण्टाका लागि बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) का अनुसार सडकको मर्मत तथा स्तरोन्नतिको कामका कारण जेठ २६ देखि ३० गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ।
यसअघि पनि यही कारणले सडक बन्द गरिएकोमा आजदेखि थप पाँच दिनको समय थप गरिएको हो। आयोजनाले सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको जनाएको छ। साना तथा मझौला सवारी साधनहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न सूचित गरिएको छ।
निर्माण कार्य अत्यावश्यक भए पनि यात्रुहरू, स्थानियवासी तथा यातायात व्यवसायीले बारम्बारको सडक बन्दबाट असुविधा भोग्नु परेको गुनासो गरेका छन्। वैकल्पिक मार्गहरू साँघुरा, उकालो–ओरालो र झनै जोखिमपूर्ण भएको भन्दै निर्माण कार्यलाई योजनाबद्ध र प्रभावकारी बनाउन सरोकारवालाहरूले माग गरेका छन्।
यसैबीच, ट्राफिक प्रहरी महाशाखाले यात्रुहरूलाई पूर्वतयारीसहित यात्रा गर्न, वैकल्पिक मार्गको प्रयोगमा सावधानी अपनाउन र सम्भव भएसम्म बन्द अवधिमा यात्रा नगर्न अनुरोध गरेको छ।