चार दिनपछि कान्ति लोकपथ सञ्चालनमा

File Photo

काठमाण्डौ- निर्माणाधीन बेलिब्रिजको काम सकिएपछि काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा आएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमास्थित बगुवा बागमती खोलामा बेलिब्रिज जडानको काम गएराति सम्पन्न भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार आज बिहान साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो।

यसअघि, मकवानपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी असार २१ देखि सडक पूर्ण रूपमा बन्द गरिएको थियो। लगातार २४ सै घण्टा कामदार र प्राविधिक खटाएर चार दिनमै निर्माण सम्पन्न गरिएको जनाइएको छ।

गएको असोजमा अविरल वर्षाका कारण आएको बाढीले बागमती पुलको एक भाग बगाएपछि अस्थायी पहुँचमार्ग प्रयोग हुँदै आएको थियो। हाल जडान गरिएको बेलिब्रिजको भारवहन क्षमता ३० टन रहेको छ।

सडक आयोजनाले क्षमताभन्दा बढी भार बोकेका सवारी साधन नचलाउन मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई निगरानी गर्न पत्राचार गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्