काठमाडौं – अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपाली नागरिकहरू आज काठमाडौं आइपुग्दै छन्। अमेरिकी चार्टर्ड विमानमार्फत् उनीहरूलाई फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार सो विमान आइतबार अपराह्न सवा चार बजे काठमाडौं अवतरण गर्नेछ। प्रवक्ता अञ्जन न्यौपानेले नेपाली नागरिकहरू डिपोर्ट भएर आइरहेको पुष्टि गरे पनि यकिन संख्या भने खुलाइएको छैन।
स्रोतअनुसार सुरुमा ४८ जनाको सूची तयार गरिएको भए पनि केही नेपालीहरू रोकिएकाले डिपोर्ट हुने संख्या घटेर करिब ४० को हाराहारीमा रहेको अनुमान गरिएको छ। विमानले विभिन्न देशका डिपोर्टीहरू छाड्दै काठमाडौं आइपुग्नेछ। अमेरिकाले भिसा प्रक्रिया पूरा नगर्ने, भिसा अवधि नाघ्ने र आप्रवासन नियम उल्लंघन गर्ने विदेशी नागरिकलाई डिपोर्ट गर्दै आएको छ।
आज आउन लागेका नेपालीहरूको डिपोर्ट कारण पत्रमा स्पष्ट नखुलाइएको भए पनि अमेरिका इमिग्रेशन कानुन उल्लंघन गर्नु मुख्य कारण भएको उल्लेख गरिएको छ। ट्रम्प प्रशासनले दोस्रो कार्यकालको शुरुवातसँगै आप्रवासीमाथि कडाइ गर्दै आएको छ। २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ।
यसअघि सन् २०२१ देखि २०२४ सम्म क्रमशः ३५, २२, २४ र ५२ नेपाली अमेरिका डिपोर्ट भएका थिए। डिपोर्ट हुनेहरूमा अवैध मार्गबाट अमेरिका प्रवेश गरेका र दलाललाई मोटो रकम बुझाएका धेरै रहेका छन्। उनीहरूलाई त्रिभुवन विमानस्थलमा सोधपुछपछि सामान्यतः घर पठाइने गरिएको छ। तर, दलालविरुद्ध उजुरी नपरेसम्म अनुसन्धान प्रक्रिया अघि बढ्दैन।