काठमाडौंमा सुरु हुँदै अनेरास्ववियुको २४औं महाधिवेशन

काठमाडाैँ- नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशन आज काठमाडौंमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजना हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। महाधिवेशनले संगठनको आगामी नीति, कार्यक्रम र नयाँ नेतृत्व चयन गर्नेछ।

यस पटकको महाधिवेशन विशेष छ, किनकि पहिलोपटक ३२ वर्षे उमेर हद लागू गरिएको छ। नेकपा एमालेको ११ जेठमा बसेको सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा लागू गरिएको जस्तै अनेरास्ववियुमा पनि उमेर हद अनिवार्य गर्ने निर्णय गरेको हो। उमेर हद लागू भएपछि अध्यक्ष पदका प्रमुख दावेदार महासचिव नरेश शाही, उपाध्यक्ष रामचन्द्र घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरीलगायत १५ जना वरिष्ठ नेताहरू स्वतः प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

यस निर्णयपछि नेतृत्वको अवसर अब सचिव तहका नेताहरूमा केन्द्रित भएको छ। अध्यक्ष पदका लागि दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेललगायत नेताहरूको नाम चर्चामा छ। उनीहरूले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले नेतृत्व चयन सहमतिको आधारमा गर्न निर्देशन दिएपछि जनसंगठन समन्वय संयन्त्रले सहमतिमा पुग्ने प्रयास गरिरहेको छ। तर उद्घाटनको दिनसम्म पनि औपचारिक सहमति जुट्न नसकेको अनेरास्ववियुका एक पदाधिकारीले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्