पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो, जरिवाना र सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। अन्य प्रतिवादीहरूमाथि भने फरक–फरक रूपमा विगो र जरिवानाको माग गरिएको छ।

आयोगका अनुसार हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सम्पत्तिमा हिनामिनासहित राज्यलाई आर्थिक हानि पुर्‍याइएको ठहर गरिएको छ। यो मुद्दासँगै नेपाल नेपालको इतिहासमा भ्रष्टाचार मुद्दा खेप्ने पहिलो पूर्वप्रधानमन्त्री बनेका छन्। साथै मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारको मुद्दा चलाइएको पनि पहिलोपटक हो।

पतञ्जलिले काभ्रेपलाञ्चोकमा आयुर्वेद अस्पताल, शिक्षालय र जडीबुटी फार्म सञ्चालन गर्ने उद्देश्यले हदबन्दी छुटमा ८१५ रोपनी जग्गा खरिदको अनुमति पाएको थियो। तर, केही महिनामै त्यही जग्गा बिक्री गरेको पाइएको छ। यस्ता जग्गा बिक्री गर्न कानुनले निषेध गरेकाले त्यसबारे उठेका प्रश्नका आधारमा अख्तियारले छानबिन अघि बढाएको हो।

भ्रष्टाचार मुद्दा दायर भएपछि माधवकुमार नेपालको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ। आयोगको यो कदमले राजनीतिमा समेत चर्को बहस सुरु गराएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्