विपद् व्यवस्थापनमा राज्य संयन्त्रलाई चनाखो हुन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ, २२ जेठ – गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै मुलुकभर विपद् प्रतिकार्यको पूर्वतयारी तीव्र बनाएका छन्। मनसुन सक्रिय हुने पूर्वसन्ध्यामा गृहमन्त्रीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र काठमाडौँस्थित नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण गर्दै तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो।

गत वर्ष बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भोगेको नेपालमा यस वर्ष झनै जोखिम रहेको पूर्वानुमानका आधारमा गृह मन्त्रालयले विभिन्न तहमा तयारी अभिवृद्धि गरिरहेको छ। विगत तीन दिनदेखि मन्त्री लेखकले भर्चुअल माध्यमबाट सातै प्रदेश र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सुरक्षा संयन्त्रसँग समन्वय बढाउनुका साथै विपद् पूर्वतयारीमा गम्भीर बन्न निर्देशन दिएका छन्।

गृहमन्त्रीले “जुनसुकै बेला जेसुकै हुन सक्छ” भन्ने मानसिकतासहित तयार रहनुपर्नेमा जोड दिनुभएको छ। मनसुनजन्य विपद्का साथै भूकम्प र आगलागीजस्ता आकस्मिक घटनाका लागि समेत सतर्क रहन निर्देशन दिँदै उहाँले आवश्यक उपकरण, प्राविधिक जनशक्ति र उद्धार सामग्री तयारी अवस्थामा राख्न आग्रह गर्नुभएको हो।

गृह मन्त्रालयले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ स्वीकृत गरिसकेको छ। कार्ययोजनामा १९ लाखभन्दा बढी नागरिक विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ।

गृहमन्त्रीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औं बैठकमार्फत विपद् प्रतिकार्यमा सरोकारवाला निकायबीचको समन्वयलाई बलियो बनाउने कार्ययोजना अघि सारेका छन्। गोदामघर व्यवस्थापनसम्बन्धी झन्झटिलो प्रक्रिया हटाउँदै प्रदेश र पालिकास्तरसम्म आपत्कालीन सामाग्रीसहितको भण्डारण गृह हस्तान्तरण गरिएको छ।

सशस्त्र प्रहरी बलको निरीक्षणका क्रममा मन्त्री लेखकले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (NEOC) मा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना प्रतिनिधि सम्मिलित शाखा गठनको प्रस्ताव गर्दै तत्काल समन्वयमा आधारित प्रतिकार्यमा जोड दिनुभयो।

उहाँले भर्चुअल बैठकमा बोल्दै, विगतमा भएको कमजोरी दोहोरिन नदिन सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। “कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, चौबिसै घण्टा तयार रहनुपर्छ,” गृहमन्त्रीको भनाइ थियो। विपद्का समयमा प्रहरीप्रति जनताको भरोसा बढी हुने भएकाले सेवामुखी भावनासाथ कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

यसै क्रममा निमित्त गृहसचिव जय नारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना संकलन, समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सुरक्षा निकायलाई जनताको आशाको केन्द्रको रूपमा कार्य गर्न आग्रह गर्नुभयो।

सरकारले मनसुनजन्य विपद् व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार, सेना, प्रहरी र अन्य सम्बन्धित निकायसँग सहकार्यमा आधारित प्रभावकारी मोडेल कार्यान्वयन गर्ने तयारी गरेको छ। विपद् न्यूनीकरण र प्रतिकार्यमा यो समन्वयात्मक प्रयास निर्णायक सावित हुने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्