अन्तर्राष्ट्रिय पर्यटनमा ८० प्रतिशतसम्म गिरावट आउने

काठमाडौँ – अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले पर्यटकको सङ्ख्यामा कमी आउने जनाएको हो ।

यस वर्षको पहिलो चौमासिकमै पर्यटकको सङ्ख्यामा २२ प्रतिशत कमी आएको पनि अन्तर्राष्ट्रिय यस संस्थाले जनाएको छ । विश्व स्वास्थ्य संगठनको अनुमान र अहिलेसम्मको अवस्थालाई हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्षभरिमा ६० देखि ८० प्रतिशत पर्यटक घट्ने देखिएको विश्व पर्यटन सङ्गठनले बताएको छ ।
यस क्षेत्रका दशौँ लाख जीवजन्तु खतरामा रहेको र यसले दिगो विकास लक्ष्य (एसडीजि)लाई पनि असर गर्ने देखिएको सङ्गठनले जनाएको छ । कोरोना भाइरसका कारण विश्वले अहिले अनपेक्षित रुपमा स्वास्थ्य र आर्थिक सङ्कट झेलिरहेको छ । यसले पर्यटन क्षेत्रलाई पनि नराम्रोसँग असर पारेको राष्ट्रसङ्घीय अधिकारीहरूले बताएका छन् ।
“रोजगारीको धेरै अवसर दिएको पर्यटन क्षेत्रमा कार्यरत दशौँ लाख मानिसको रोजगारी सङ्कटमा परेको छ,” युएनडब्लुटिओका महासचिव जुराब पोलोलिकाश्भीलीले भने । कोरोना भाइरसको सङ्क्रमणको डरले अधिकांश देशहरूले आवतजावतलाई बन्द गरेका छन् भने अधिकांश देशका नाका र हवाई सेवा पनि बन्द रहेका छन् ।
यसले अन्तरदेशीय पर्यटनलाई अत्यधिक धेरै असर पारेको छ भने आन्तरिक पर्यटनलाई कम असर पारेको छ । कोरोनाभाइरसबाट सबैभन्दा धेरै एसिया प्रशान्त क्षेत्रमा र युरोपलगायतका देशहरूमा प्रभाव धेरै परेको देखिएको छ । कोरोनाभाइरसको प्रभाव बढी परेकै क्षेत्रमा पर्यटन व्यवसायले पनि ठूलो क्षति भोग्नु परेको छ । यो बर्षको बाँकी समयमा कति क्षति हुन्छ भन्ने कुरा कोरोना भाइरसको सङ्क्रमण कति फैलिन्छ र कति देशहरूले कहिलेसम्म लकडाउन र सिमाना तथा उडान सेवा कहिलेसम्म बन्द गर्छन् भन्ने कुरामा निर्भर रहने पनि सङ्गठनले जनाएको छ । रासस

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्