सुनसान छन् इलामका पर्यटकीय स्थल

इलाम – वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने पर्यटकको ओइरो देखिन्छ, न त मानिसको भिडभाड ।

इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने श्रीअन्तुबाट सन्दकपुरसम्म पर्दछन् । जुन गन्तव्यहरु सूर्योदय र सूर्यास्तका लागि अब्बल मानिन्छन् । तर कोरोना भाइरसका कारण भने अहिले पर्यटकको सङ्ख्या शून्य छ । पर्यटकको बाक्लो नै उपस्थिति हुने यस बेलामा पर्यटक नहुँदा सबै होमस्टे र होटल सुनसान छन् ।

पर्यटकीय क्षेत्रहरु कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर, पानीटार कुइभिर ढाप पोखरीजस्ता क्षेत्र सुनसान भएको पर्यटन व्यवसायी बताउँछन् । भारतीय बाटो भएर आउने पर्यटक शून्यजस्तै भएका छन् । वनभोज र भ्रमणमा आएका पर्यटकले भरिभराउ हुने कन्याम सुनसान भएपछि त्यहाँ व्यवसाय गर्ने व्यवसायीलाई हातमुख जोर्न समस्या पर्न थालेको छ । कन्यामका होटल सञ्चालक टेकराज गिरीले पर्यटक आउन छोडेको एक महिनाभन्दा बढी भएको बताए । उनले भने, “कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् । फागुन सुरु भएपछि झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि आउनेको ताँती हुन्थ्यो । तर यसपालि सुनसान छ ।”

कन्याममा १०० व्यावसायिक ट्रली–ठेला सञ्चालनमा रहे पनि पर्यटकको चाप घटेपछि १५÷२० मात्र सञ्चालनमा रहेको स्थानीय व्यवसायी गोपाल गिरीले जानकारी दिए । पर्यटक आउन छाडेपछि ठेला व्यवसायीले नगरपालिकालाई बुझाउनुपर्ने कर तिर्नसमेत समस्या पर्न थालेको व्यवसायी बताउँछन् । झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि दैनिक हजाराँै पर्यटक पुग्ने अन्तुडाँडा पूरै सुनसान भएको स्थानीय घरवास व्यवसायी रुद्र घिमिरेले जानकारी दिए ।

कन्याम, अन्तु, फिक्कल बजार, इलाम बजार, सन्दकपुरजस्ता पर्यटकीय क्षेत्रका होटलसमेत धरासयी बन्ने अवस्थामा पुगेको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले जानकारी दिए । पर्यटक नआएका कारण धार्मिकस्थलसमेत यतिबेला सुनसान छन् । कोरोनाका कारण बन्दाबन्दी भएदेखि पर्यटक आउनै छाडेको इलामको प्रसिद्ध धार्मिकस्थल माइपोखरीका पुजारी तुलाराम पौडेलको भनाइ छ । गत वर्ष इलाममा झण्डै एक लाख पर्यटक इलाम घुम्न आएको भए पनि यस वर्ष भने सो सङ्ख्यामा ह्रास आउने अनुमान छ । –रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्